२३ पुस, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले केही समयअघि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएपछि प्रधानमन्त्री कार्कीले उनलाई औपचारिक रूपमा बिदाइ गरेकी छिन् । प्रधानमन्त्री कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, साथै शहरी विकास मन्त्रालयको जिम्मेवारी सुम्पेकी थिइन् ।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका घिसिङले आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल पार्टी’ दर्ता गराएका थिए । १४ पुसमा उक्त पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच उपसभापतिको सहमतिसहित एकता गर्ने समझदारी भएको थियो ।
तर गैरदलीय सरकारमा मन्त्रीको भूमिकामा रहँदै रास्वपाको राजनीतिक गतिविधिमा संलग्न भएको आरोप लागेपछि उनको राजीनामाको माग चर्किँदै गएको थियो । सामाजिक सञ्जाल र सार्वजनिक तहमा मन्त्रीहरूको राजनीतिक सक्रियतामाथि प्रश्न उठेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले घिसिङलाई राजीनामा दिन आग्रह गरेकी थिइन् ।
मन्त्री पदबाट अलग भएपछि घिसिङले पदभन्दा आत्मसम्मान ठूलो हुने स्पष्ट धारणा व्यक्त गरेका छन् । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “पदभन्दा ठूलो मूल्य सिद्धान्त हो । कुर्सीभन्दा माथि आत्मसम्मान हुन्छ र सरकारभन्दा ठूलो जनता हुन्छन्।”
उनले आफ्नो राजीनामा जिम्मेवारीबाट पन्छिनका लागि नभएको स्पष्ट पारे । “मेरो राजीनामा न भाग्ने निर्णय हो, न जिम्मेवारीबाट विमुख हुने प्रयास । यो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो,” उनले बताए ।
घिसिङले पदमा रहँदा मात्र होइन, पद बाहिर रहँदा पनि देश र जनताको हितमा उभिनु आफ्नो कर्तव्य भएको उल्लेख गरे । साथै, उनले आफू अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्य नभएको दोहोर्याए ।
उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमति हालसम्म कार्यान्वयनमा नआएको स्पष्ट पार्दै उनले भने, “सहमति पत्रमा मेरो नाम उल्लेख भए पनि त्यो समझदारी व्यवहारमा लागू भएको छैन । त्यसैले मैले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको छैन।”
प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले भने, “राजनीतिमा औपचारिक रूपमा प्रवेश गरेपछि मात्र पार्टी सदस्यता लिने मेरो स्पष्ट धारणा थियो, र अहिले पनि म त्यही मान्यतामा अडिग छु।”