९ वैशाख, काठमाडौं — गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। विवादास्पद व्यवसायीसँग साझेदारी तथा सेयर कारोबारमा संलग्न भएको आरोपपछि चौतर्फी आलोचना बढेपछि उनले आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको २६ दिनमै दुई मन्त्री पदमुक्त भएका छन्। उनीहरूको कार्यशैली र व्यक्तिगत अपारदर्शिताका कारण पद छाड्नुपरेको बताइएको छ।
यसअघि श्रममन्त्री दीपककुमार साह पनि विवादमा परेका थिए। आफ्नी पत्नीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रूपमा नियुक्त गराउन भूमिका खेलेको आरोप लागेपछि उनी १३ दिनमै पदबाट हटाइएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसपछि प्रधानमन्त्रीले उनलाई पदमुक्त गरेका थिए।
गुरुङले आफ्नो राजीनामाबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। उनले आफूविरुद्ध उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।
उनले भनेका छन्, “म, सुदन गुरुङ, २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको छु। पछिल्ला दिनहरूमा मेरो सेयरसम्बन्धी विषयमा उठेका प्रश्न र टिप्पणीलाई मैले गम्भीर रूपमा लिएको छु। मेरो लागि पदभन्दा नैतिकता ठूलो हो, र जनविश्वासभन्दा शक्तिशाली अरू केही हुँदैन।”
उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै भइरहेको जनआन्दोलनले पनि यही सन्देश दिएको उल्लेख गरेका छन्।
गुरुङले आफूमाथि उठेका विषयमा निष्पक्ष छानबिन होस् भन्ने मागसमेत गरेका छन्। पदमा रहँदा स्वार्थको द्वन्द्व नहोस् भन्ने उद्देश्यले राजीनामा दिएको उनको भनाइ छ।
“मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने हेतुले आजैदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,” उनले भनेका छन्।
अन्त्यमा, उनले आफ्नो नैतिक जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै सञ्चारकर्मी तथा सर्वसाधारणलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न आग्रह गरेका छन्। साथै, केही सञ्चारकर्मीहरूसमेत भविष्यमा आलोचनाको घेरामा पर्न सक्ने संकेत गर्दै उनले चेतावनी दिएका छन्।